भदौ १७, पोखरा । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले सिरहा, सप्तरीमा बाढीले डुबान गर्दा पहाडको मन दुःख्ने र पहाडमा पहिरो जाँदा तराईले सहयोग गर्नेपर्ने बताएका छन् ।
पोखरामा जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्ने क्रममा नेता यादवले जसपाले तराई, मधेश, पहाड र हिमाललाई भावनात्मक रुपमा एक बनाएर लैजाने नीतिका साथ अगाडि बढेको बताए ।
‘तराई मधेसका सिरहा, सप्तरीका जिल्लामा डुबान हुँदा पहाडको मन दुख्नुपर्छ । पहाडमा पहिरो जाँदा तराई मधेशले सहयोगको पोको बोकेर आउनुपर्छ । त्यो भावनात्मक सम्बन्ध जोड्न हामी लागेका छौँ’, उनले भनेका छन् ।
गोरखाबाट नेपालको एकीकरण अभियान भए पनि अहिलेसम्म भावनात्मक एकता हुन नसकेको भन्दै पूर्वमन्त्री यादवले साझा नेपाल र नेपाली बनाउन खोजेको बताएका छन् ।
उनले आन्तरिक एकतालाई मजबुद बनाउने भन्दै जताबाट हेर्दा पनि मेरो नेपाल, हामी नेपाली भन्ने भावना जसपाले अगाडि बढाएको बताए ।
युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेर उद्योग, व्यवसाय र इलममा लगाउनुपर्ने बताएका नेता यादवले जनतालाई आर्थिक रुपमा बलियो बनाउन सकियो भने मात्रै देशको विकास र समृद्धि हुने बताएका छन् ।