प्रतिवेदन बुझाएको एकसातापछि भारतलाई कूटनीतिक पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भदौ २२, काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनाको विषयमा आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ । घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पत्र पठाइएको हो ।

स्रोतका अनुसार तुइन घटनामा एसएसबी जिम्मेवार रहेकोमा आपत्ति जनाउँदै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पत्रमार्फत भनिएको छ । त्यस्तै, नेपाली आकासमा भारतीय हेलिकोप्टर उडाएकोमा पनि पत्र पठाएको छ । बिनाअनुमति हेलिकोप्टर उडाइएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन ध्यानाकर्षण गराइएको स्रोतले बतायो ।

गृह मन्त्रालयले तुइन घटनाबारे भारतलाई कूटनीतिक पत्र पठाउन आग्रह गर्दै परराष्ट्रलाई भदौ १७ मा पत्राचार गरेको थियो । त्यसकै भोलिपल्ट भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेकोबारे कूटनीतिक नोट पठाउन आग्रह गर्दै पत्र लेखेको थियो । तर परराष्ट्रले आलटाल गरेकोमा चौतर्फी विरोध भएपछि बल्ल सोमबार पत्र पठाइएको हो ।

तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर अनधिकृत रूपमा उडाइएपछि भारतीय ज्यादतीविरुद्ध सर्वत्र विरोध भइरहेको छ । सीमा क्षेत्रमा भएका पछिल्लो दुई प्रकरणबारे भारतसँग सामान्य सोधपुछसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना बढेको छ । भारतीय ज्यादतीको विरोध नेपालमा अझै चर्कने देखेपछि बल्ल सरकारले दुवै घटनालाई समेटेर भारतलाई औपचारिक पत्र लेख्दै संलग्नमाथि कारबाहीको माग गरेको हो ।

तुइन प्रकरणको सत्य–तथ्य पत्ता गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो ।

साउन १५ गते महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । तुइन तर्दै गर्दा एसएएबीले तुइनको लठ्ठा खुस्काइदिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस