खोटाङ र मकवानपुरका गरी २० जनप्रतिनिधि एकीकृत समाजवादीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भदौ २२, काठमाडौँ । नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका-४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहेका छन् । यस्तै बराहपोखरी गाउँपालिका-५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका-८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले सो पार्टीका पक्षमा सनाखत गर्ने क्रम जारी रहेको समाजवादीका जिल्ला सचिव जलशेर राईले बताए । एमालेको विसं २०७२ वैशाख १०-१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन् ।

यस्तै, मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले नेकपा एमाले छाडेर नेकपा एस पार्टी रोजेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले समाजवादीका लागि सनाखत गरेका हुन् ।

मकवानपुरको इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहित विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले त्यागेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूले नेकपा समाजवादी रोजेका हुन् ।

सनाखत गर्ने जनप्रतिनिधिहरूमा इन्द्र सरोबर गाउँपालिका-५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्र सरोबर गाउँपालिका कार्यपालिका सदस्यहरू दुर्गावती थोकर, मन्जु रुम्बा ५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका-१ नम्बर वडा सदस्य ईश्वरी सुनार, थाहा नगरपालिका वडा नम्बर-११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर-५ का सदस्य विष्णु तिमल्सिनाले पनि नेकपा एसका लागि सनाखत गरेका हुन् ।

योसँगै नेकपा एसमा सनाखत गर्ने जनप्रतिनिधिहरूको सङ्ख्या ३५ पुगेको छ । यसअघि मकवानपुरका २५ जना जनप्रतिनिधिहरुले नेकपा एसका लागि सनाखत गरिसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस