असोज ६, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न उनले आज (बुधबार) का लागि बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे सभापति निवास बूढानीलकण्ठमा बस्दै छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा छलफल हुने देउवाको सचिावालयले जनाएको छ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । क्रियाशील विवाद मिलाए पनि नामावली सार्वजनिक नहुँदा असोज ५ का लागि तय गरेको वडा अधिवेशन प्रभावित भइसकेको छ ।
साथै परराष्ट्र मन्त्री चयन गरेर सकेसम्म आजै सपथ गराउने पक्षमा प्रधानमन्त्री देउवा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री बनाउनेबारे पार्टीमा गहन छलफल गरेपछि मात्रै निर्णय हुनुपर्ने बताइरहेका छन् ।
यसैबीच पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गरेका छन् ।