असोज १२, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय (मत) बुझेका थिए ।
जसअनुसार सोनलको पक्षमा ९ सांसदले मत दिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिए । एक जनाले तटस्थ बस्ने बताएका थिए ।
त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदबीच सुनाएका थिए ।
सोनल यसअघि साविकको राजपा नेपालको पनि प्रदेश २ संसदीय दलको नेता थिए । उनले प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै उनलाई सरकारबाट हटाएका थिए ।