असोज १२, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोधन गर्दै परराष्ट्रमन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।
उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी गराए । सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताए ।
कोभिड–१९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गरे ।
यस्तै, परराष्ट्रमन्त्री खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको पनि बताए । अफ्गानिस्तान,लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको उनको भनाई थियो ।
आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले बताए ।
परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरीकाको न्यूयोर्कमा छन् ।