अध्यादेश फिर्ता लिनु अनैतिकताको पराकाष्ठा : एमाले

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १२, मंगलबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । प्रमुख प्रतिक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिनु सरकारको अनैतिक काम भएको बताएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त कदमलाई अनैतिकताको पराकाष्टाको संज्ञा दिए । सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्थाकै दुरुपयोग गरेको उनको आरोप छ ।

‘यो घोर अनैतिक काम हो । योभन्दा गिर्ने ठाउँ तल केही छैन । एमाले विभजन गर्ने गलत उद्देश्यका साथ ल्याइयो । त्यो काम सकेपछि फिर्ता लियो’, उनले भने, ‘देख्दा पनि लाजमर्दो र अनैतिक काम हो । यसले एकदमै गलत नजिर बस्‍यो । यो राम्रो कुरा होइन । राजनीतिक रूपमा अनैतिकताको पराकाष्ठा हो ।’

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ खारेज गरेकी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अपरान्ह राजनीतिक दलसम्बन्धी अध्यादेश–२०७८ फिर्ता गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिस गर्ने निर्णय बमोजिम भएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने सिफारिस राष्ट्रपतिले स्वीकृत गरेकी हुन् ।

केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याइएको थियो । त्यो अध्यादेश फिर्ता नलिएमा आफूहरूको दल फुट्ने, जनता समाजवादी पार्टीले बताइरहेको थियो । त्यही अध्यादेशका कारण गठबन्धन सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको थिएन् ।

अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस