कार्तिक २१, काठमाडौँ । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बुधबारसम्मको ’अल्टिमेटम’ दिएको बारले प्रधानन्यायाधीशको राजीनामा नआएपछि आइतबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।
एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार आज र भोली देशभरका ९० वटा बार एकाइसँग भर्चुअल छलफल गर्न लागिएको छ । छलफलमा सहभागी बार इकाईका प्रतिनिधिको सुझावका आधारमा आन्दोलनका थप कार्यक्रम तय गरिने श्रेष्ठले बताए ।
बारले गत आइतबारदेखि हातमा कालो पट्टी बाँधेर सर्वोच्च परिसरमै धर्ना दिइरहेको थियो । बिहीबारदेखि आजसम्म तिहार विदा भएको र नयाँ आन्दोलनका कार्यक्रम घोषणा नहुँदासम्म यसअघिकै कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठले बताए । ।
उनका अनुसार प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले आन्दोलन जारी राख्नेछ । न्यायाधीशहरुले समेत प्रधनन्यायाधीशलाई मार्ग प्रशस्त गर्न दबाब दिने उद्देश्यले बेञ्च बहिस्कार गर्दै आएका छन् । जसका कारण सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाई हुन सकेको छैन । प्रधानन्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।