दिपू वर्णवाल
भाद्र ८, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाका प्रमुख सचेतक प्रदीप यादवले आन्दोलनबाट उदाएको पार्टीमाथि बिचौलियाहरूले कब्जा गर्न नसक्ने बताएका छन् ।
जसपा पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जसपा आन्दोलन र सङ्घर्ष गर्नेहरूको पार्टी भएको बताउँदै निजी स्वार्थपूर्तिका लागि राजनीति गर्ने व्यक्तिहरूले आएर यसमाथि कब्जा गर्न नसक्ने बताए ।
यादवले भने, ‘हामीले पार्टीको महत्त्व बुझ्छौँ, सानो सानो प्रयास मार्फत आज यत्रो सङ्गठन बनाएका छौँ । यसमाथि कोही पनि बिचौलियाले आएर कब्जा गर्न सक्दैनन् । त्यस्तो व्यक्तिलाई स्विकार्न सकिँदैन ।’पार्टी कुनै एक व्यक्तिको नभई त्यसमा आबद्ध सम्पूर्ण नेता र कार्यकर्ताको रहेको बताउँदै उनले थपे, ‘पार्टी सबैको हो, यसमा प्रत्येक नेता कार्यकर्ताको आफ्नो भूमिका हुन्छ, सबैको सल्लाह, सुझाव र नियमित बैठक मार्फत निर्णय गर्नुपर्नेमा पर्सामा एक थान व्यक्तिहरूले लेटर प्याड र विज्ञप्ति मार्फत पार्टी चलाउन खोज्नु दुर्भाग्यपूर्ण छ ।’ उनले पार्टीका केही व्यक्तिले सङ्गठनलाई निजी संस्था जस्तो चलाउन खोजेको आरोप पनि लगाए ।
त्यस्तै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पार्टीबाट असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गरे । अहिले पार्टी सङ्गठन निर्माणकै क्रममा रहेकोले सबैलाई समेट्न नसकिए पनि समय क्रमसँगै सबै नेता र कार्यकर्ताहरूको उचित व्यवस्थापन हुने प्रतिबद्धता जनाए ।
जसपाको केन्द्रीय सदस्यसमेत रहेका सिंहले पार्टीलाई विस्तार गर्दै पर्सा जिल्लाकै ठूलो राजनीतिक दल बनाउन तर्फ सबै जना काँधमा काँध मिलाएर अगाडि बढ्न पनि आग्रह गरे । उनले भने, ‘आज हामी निर्वाचित हुनुमा सबैभन्दा ठूलो योगदान कार्यकर्ताहरूको छ । उहाँहरूको उचित व्यवस्थापन गर्नुमा हामी चुक्नु हुँदैन । त्यस्तै सङ्गठन विस्तार गर्न तर्फ पनि हाम्रो ध्यान केन्द्रित हुन् आवश्यक छ । यसमा चुके भविष्यमा हामीलाई धेरै समस्या हुन् सक्छ ।’
सिंहले शुक्रवार वीरगञ्जमा समाजवादी मोर्चाले आयोजना गर्न लागेको घोषणा सभालाई भव्यताका साथ सफल पार्न सबै नेता कार्यकर्ताहरूसँग आग्रह पनि गरे । बैठकलाई जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार मुन्ना सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, धोविनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, जसपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादव, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुलगायतले सम्बोधन गरेका थिए ।