संसद बैठक: कसले के भने ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

आश्विन १९,काठमाडौँ । सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताए ।

सांसद चौधरीले भनिन्, ‘अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ । चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुकताका साथ गर्नुपर्ने तर गरेको छैन ।’

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक गाडीले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराइन् ।

सांसद सुवेदीले भनिन्, ‘चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, यात्रु भाडामा ठगी हुने गरेको छ । बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा नागरिकले कसरीे दशैँ मनाउँछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सांसद पन्तले कवितात्मक शैलीमार्फत सरकारलाई प्रश्न गरे । उनले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २ सय ५० रुपैयाँ पुगेको बताए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीको लागि सरकारी र संस्थानका गाडीको प्रयोग गर्ने गरी प्रबन्ध मिलाउन सरकारसँग माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस