फागुन ७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।