फागुन ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् ।
प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन्। उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गरे ।
तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको बताए ।