फागुन ७, काठमाडौँ । महासमिति बैठक उद्घाटन भइसक्दा पनि धेरै विषयमा सहमति जुटाउन नसक्दा महामन्त्रीहरूको राजनीतिक दस्तावेज तयार पार्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक डाकेका छन् ।
बैठक देउवा निवास बुढानीलकण्ठमा अपराह्न हुने उनीनिकट स्रोतले जानकारी दिएको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ । थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा छन् ।
तर दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ । कांग्रेसले तयार पारेको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा सबै प्रस्तावहरू पेश गर्नुपर्नेछ ।