साउन ५, काठमाण्डौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्ने बताएका छन् ।
कांग्रेस र एमालेको नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको उनले आरोप लगाए । उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीहरू उल्ट्याउने धृष्टता गरे समाजवादी मोर्चाले त्यसविरुद्धमा सडक र सदनबाट संघर्ष गर्ने बताए । उनले देशका समाजवादी, कम्युनिष्ट र वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताए ।
‘अहिले राजनीतिक घटनाक्रम जसरी बदलिएको छ र सुन्नमा आए अनुसार दुईटा ठूला दलहरूले असार १७ गते राति बसेर सात बुँदे समझदारी जुन बनाइएको भनेर मिडियाले जुन कुरा सार्वजनिक गरिराखेको छ, यसले कतै हामीले प्राप्त गरेको उपलब्धिहरू गुम्दै त छैन ? देशलाई पश्चगमनतर्फको यात्रामा धकेल्न त खोजेको छैन भन्नेखालको आशंका पनि छ,’ श्रेष्ठले भने, ‘यदि त्यो खालको अवस्था हो भने समाजवादी मोर्चाले किमार्थ प्राप्त उपलब्धीहरूलाई छिन्ने कसैले धृष्टता गर्छ भने त्यसको विरुद्धमा समाजवादी मोर्चा सडकमा, सदनमा सबै प्रकारको संघर्ष गर्नको निम्ति तयार रहन्छ ।’