जेठ १०, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक आजदेखि १६ दिन आंशिक रूपमा सवारी साधनको आवागमन बन्द गरिने भएको छ ।
नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भन्दै जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरू आवतजावत रोकिने जानकारी गराएको हो ।
उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन् । दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने रोकिने छैन ।
यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।