उपसभामुखबारे धारणा बनाउन देउवाले बोलाए बैठक, सांसदहरु हस्ताक्षर संकलन गर्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ८८ पटक पढिएको
उपसभामुखबारे धारणा बनाउन देउवाले बोलाए बैठक, सांसदहरु हस्ताक्षर संकलन गर्दै

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानामगरबारे पार्टीको धारणा बनाउन पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक डाकेका छन् । देउवाले बुधबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तारुढ दलको बैठकमा उपसभामुख रानामगरलाई हटाउन प्रस्ताव गरेका थिए । यद्यपि उनीबिरुद्ध आचरणको प्रस्ताव मंगलबार ल्याउने भनिए पनि यससम्बन्धी कुनै प्रस्ताव दर्ता भएको छैन । संसद बैठकमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी सांसद्हरुले भने उपसभामुख रानामगरलाई हटाउने प्रयास नगर्न चेतावनी दिएका थिए । कांग्रेस सभापति देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका हुन् ।

यसैबीच कांग्रेसले उपसभामुख रानामगरलाई हटाउने तयारी स्वरुप हस्ताक्षर थालेको छ । कांग्रेस सचेतक सुशीला थिङले संसद बैठक कक्षमा  फाइल उचाल्दै आफ्ना प्रत्येक सांसदकोमा पुगेर हस्ताक्षर संकलन गरेको स्रोतले जानकारी दिएको छ ।

उपसभामुखविरुद्ध एमालेले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ । यता  सत्तारुढ गठबन्धनले उपसभामुख मगरलाई हटाउने तयारी गरेको चर्चासँगै रास्वपाले आज संसदीय दलको बैठक बोलाएको थियो । रास्वपाबाट उपसभामुख बनेकी रानामाथि पाँच जनालाई अमेरिका पुर्‍याउन पदको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस