अफ्ताव आलमलाई सफाई दिने न्यायाधीशमाथि छानविनको माग गर्दै उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ५४ पटक पढिएको
अफ्ताव आलमलाई सफाई दिने न्यायाधीशमाथि छानविनको माग गर्दै उजुरी

जेठ १६, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद एवं पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि न्यायपरिषदमा उजुरी परेको छ ।

युवराज पौडेल सफलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी निवेदन दिएका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।

उनले जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारु र महर्जनमाथि छानविन हुनुपर्ने माग गरेका छ । साथै जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा हालेको आरोपमा सजाय भुक्तान गरिरहेका आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो । यसअघि जिल्ला अदालत रौतहटले ज्यान मार्ने कसुरमा उनलाई दोषी ठहर गर्दै उनीसहित चार जनालाई जन्मकैदको सजाय तोकेको थियो ।

आलमको आदेशमा उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई घटना सार्वजनिक हुने भन्दै २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेका थियो ।

त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो । ३० असार, २०६५ मा तत्कालिन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

पीडितहरुले अनुसन्धान अघि बढाउन माग राखी सर्वोच्च अदालतमा निवेदन दिए । न्यायाधीशद्वय सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले केही न केही प्रमाण भेटिएको अवस्थामा महान्यायाधिवक्ताले स्वेच्छाचारी निर्णय गर्न नहुने फैसला गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा प्रहरीले रौतहट क्षेत्र नं. २ का तत्कालिन सांसदसमेत रहेका आलम पक्राउ परेका थिए । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस