जेठ २९, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि पुनः स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
यसअघि आजै दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको थियो । सारिएको समयभन्दा सवा एक घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षीको अवरोधपछि स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री लेखकको राजीनामा मागिरहेका उनीहरुले छानबिन समिति गठन भए सदन चल्न दिने अडान लिएका छन् ।
सदन सञ्चालनका लागि दलहरुसँग निरन्तर छलफल भए पनि सहमति हुन सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो सभामुख देवराज घिमिरेसँग भेटेर रास्वपालाई मनाएर बैठक सञ्चालनका लागि पहल गर्ने बताएका थिए । त्यसअघि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गरेका थिए ।
तर, विपक्षी दलहरु अडानमा लचक भएपनि सदन अवरोध जारी राखेका छन् । रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ । अध्यक्ष प्रचण्डले भोलिदेखि नियमित रुपमा संसद् चल्ने बताएका छन् ।