जेठ ३०, काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै अवरोध गर्दै आएका छन् । जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् । आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा पनि अनिश्चित छ । वैठक अवरुद्ध हुँदा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।
सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । हिजो रास्वपाबाहेकका विपक्षी दलसँग दुईबुँदे सहमति भएको छ । यसमा रास्वपाले भने समय मागेको छ । यदि, रास्वपा पनि सहमत भयो भने बैठक सुचारु हुने जनाइएको छ ।
दलहरुको आ-आफ्नै अडान र दाउपेचका कारण प्रतिनिधिसभा आधा महिनादेखि बन्धक बनेको छ, जसकारण संसद्का कामकारबाही अगाडी बढ्न सकेको छैन । तर सांसदहरुले भने अवरुद्ध भएको दिनको बैठक भत्ता बुझ्ने गरेका छन् ।
काम नभएको दिनको तलब भत्ता वापत् सरकारी कोषबाट सांसदहरूका लागि १ करोड रूपैयाँ भन्दा बढि सित्तैमा खर्च भएको छ । सदन अवरोध भएका दिन पनि सांसदहरूको हाजिरी हुने गरेको छ । हाजिर गरेपछि भत्ता सुविधा पाउने व्यवस्था छ ।
संसद्को यही अधिवेशनबाट नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, भूमिसम्बन्धि विधेयक, शिक्षा विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक पारित गर्ने भनी सरकारले नीति कार्यक्रममै राखेको छ । तर, विपक्षीको अवरोधकै कारण संसद्को नियमित कार्यसूची प्रभावित बनेको छ ।
अहिले सांसदहरूको मासिक तलब ६६ हजार रूपैयाँ छ । त्यसबाहेक संसद् चलेका बेला सांसदहरूले दैनिक २ हजार भत्ता पाउँछन् । अर्थात्, अहिलेको कुल सांसद संख्या २ सय ७० जनाको भत्तामा मात्र दैनिक ५ लाख ४० हजार खर्च हुने गरेको छ ।
संसद् अवरोध भएको मध्ये बस्दै नबसी सूचना टाँस गर्दा भने सांसदहरूले भत्ता पाउँदैनन् । पछिल्लो १३ वटा बैठकमध्ये यसरी बस्दै नबसी स्थगित भएको बैठक संख्या ३ वटा मात्र छ । १० वटा बैठक भने अवरूद्ध हुँदा पनि सांसदहरूले भत्ता सुविधा भने पाउनेछन् । अर्थात् संसद् अवरोध भएको अवधिमा मात्र सांसदहरूले ५४ लाख भत्ता बुझ्नेछन् ।
यता राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” सभा समक्ष पेस गर्नेछन् ।