असार २४,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका दुवै दलले आज पनि बैठक बहिष्कार गरेका हुन् ।
यसैबीच सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा हेरफेर भएको विषयमा छानबिन गर्न गठन भएको संसदीय समितिको पहिलो बैठक बसेको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।
छानबिन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई–दुई जना सांसद छन् भने नेकपा (माओवादी) केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेस सांसद जीवन परियार नेतृत्वको यस समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।