माघ २, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले हत्यामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा साबिक मनपाङ गाविस–७ स्थायी घर भई हाल ब्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मङ्गलबहादुर दमै र ब्यास नगरपालिका–४ बस्ने ४२ वर्षीया भारती परियार छन् ।
ब्यास–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई गत पुस २९ गते पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
हत्यामा संलग्न रहेका सोही ठाउँका सुकबहादुर परियार भने फरार छन् । पक्राउ परेका भारती मृतकका बुहारी र दमै भाञ्जा हुन् ।
विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
प्रतीक्षालयमा लागुऔषध
ब्यास–३ ट्राफिकचोकस्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट प्रहरीले ५४० थान लागुऔषध फेला पारेको छ ।
झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा डाइजेपाम १८०, फेनरागन १८० र नुफिन १८० थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध कसले लिई आएको भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ
ब्यास नगरपालिका–३ स्थित मासु बजारमा रहेको पूर्णसिंह सार्कीको ढाकाटोपी मासु पसल र सोही स्थानमा रहेको झलकबहादुर आलेको मासु पसलमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय रामबहादुर विक रहेका छन् । रासस