माघ २१, काठमाण्डौ । ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ । पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँ पुगेको खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् । व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको छ ।
मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मूल्य वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ । तर, यी दुई निकायले अनुगमन नै गरेका छैनन् । चल्लाको मूल्य पनि एक सातामै प्रतिगोटा ४० रुपैयाँ बढेको छ ।
पुस पहिलो साता कुखुराको मासु प्रतिकिलो २ सय ५०, दोस्रो साता २ सय ७०, तेस्रो साता २ सय ९० रुपैयाँ प्रतिकिलो पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । माघ दोस्रो सातासम्म ४ सय रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ । उत्पादन नै कम हुँदा मूल्य बढेको संघका सचिव देवकुमार गिरीको दाबी छ ।