फाल्गुण ९, काठमाण्डौ । गिटी बालुवा नै प्रमुख आम्दानीको स्रोत भएको मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन थालेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको राप्ती नदी किनारबाट बिहीबारदेखि ग्राभेल उत्खनन सुरु गरिएको हो । उत्खनन गरिएको ग्राभेल स्थानीय क्रसर तथा बालुवा प्रशोधन उद्योगहरूले खरिद गरेको गाउँपालिकाले जनाएको छ । प्रतिघनमिटर भ्याटसहित ६७ रुपियाँका दरले स्थानीय व्यवसायीले गाउँपालिकासँग ग्राभेल खरिद गरेको राजस्व अधिकृत राजेन्द्र चौलागाईले
जानकारी दिए ।
कुल दुई लाख ६० हजार घनमिटर उत्खनन गर्न मिल्ने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ तर अहिले ७० प्रतिशत अर्थात् एक लाख ८२ हजार घनमिटर मात्रै उत्खनन गरी बिक्री गर्न लागिएको मनहरी गाउँपालिकाले जनाएको छ । पहिलो चरणको उत्खनन गरिएको ग्राभेल बिक्रीबाट गाउँपालिकाले एक करोड २१ लाख ९४ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने जनाइएको छ । सङ्कलित राजस्व पर्सा राष्ट्रिय निकुञ्जलाई पनि बुझाइने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
अघिल्लो आर्थिक वर्षमा नै वातावरणीय मूल्याङ्कन प्रतिवेदन पारित भए पनि निकुञ्जले प्रतिवेदन कार्यान्वयन गर्न रोकेको थियो तर अहिले वन तथा वातावरण मन्त्री स्तरको निर्णयले ग्राभेल उत्खनन थालिएको अध्यक्ष उप्रेतीले बताए । राप्ती खोलाका १० वटा बिन्दुमा उत्खनन हुने बताइएको छ । १० वटा बिन्दुलाई समेटेर तीनवटा प्याकेज बनाई ठेक्कामार्फत उत्खननकर्ता छनोट गरिएको छ । यसैबीच यसअघि नै गाउँपालिकाले गिटी, ढुङ्गा, बालुवा, ग्राभेललगायतको अन्तर जिल्ला निकासीको ठेक्का लगाइसकेको छ । १४ करोड रुपियाँमा सीबी कन्स्ट्रक्सनले ठेक्का सकार गरेको हो ।