फाल्गुण ११, धादिङ । सातौँ धादिङ महोत्सवको आज दसौँ दिन बिभिन्न कलाकारहरुले भरपुर मनोरन्जन प्रदान गर्दैछन् । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा आज बाल गायिका कमला घिमिरे, गायक राजन गुरुङसँगै रितु कँडेल, राजकुमार बाँनिया, सीता लामा, प्रेम अर्याल, सिता सुवेदी, टिका जैसी, अमृत सापकोटा लगायत स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।
बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल, रमाइलो मेलाहरु रहेका छन् ।