फाल्गुण १३, काठमाडौं । कोरोना माहामारीका कारण नेपाल-चीन व्यापारका मुख्य नाका एक महिनादेखि ठप्प छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको व्यापार तथ्यांक अनुसार नेपाल र चीनबीच गत वर्षको समीक्षा अवधिमा भन्दा १० अर्ब ५८ करोड रुपैयाँ बढीकोे व्यापार भएको छ ।
कोरोना संक्रमण रोक्न दुवै देशले माघ १४ गते देखि दुई देशबीच सीमामा पर्ने ९ वटा नाकाहरु सहमतिमै बन्द गरेका थिए । जसमध्ये सबैभन्दा धेरै व्यापार हुने रसुवागढी र तातोपानी नाका पर्छन् । चालु आर्थिक वर्षको सात महिनामा नेपाल र चीनबीच एक खर्ब ३३ अर्ब ६८ करोड बराबरको व्यापार भएको सरकारी तथ्यांकमा देखिन्छ । यो रकम गत वर्ष भन्दा १० अर्ब ५८ करोडले बढी हो । गत वर्ष समीक्षा अवधिमा नेपाल र चीन बीचको व्यापार एक खर्ब २२ अर्ब ४ करोड बराबरको थियो ।
चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड बराबरको वस्तु आयत हुँदा निर्यात भने १ अर्ब ६ बराबर भएको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २० अर्ब ८२ करोड बराबरको आयात हुंदा निर्यात भने १ अर्ब २२ करोड बराबर थियो ।
यस वर्ष चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ३१ अर्ब ५६ करोड रहेको छ जो गत वर्ष समिक्षा अवधिमा १ खर्ब १९ अर्ब ६० करोड थियो । रसुवागढी भन्सार कार्यालयकाअनुसार नाका बन्द भएको एक महिना भए पनि भन्सार यार्डमा थुपारिएका सामानहरुको जाँच पास माघ २७ सम्म चलेको थियो । केही जाडो र गर्मीका सामान तथा पूर्वाधारमा प्रयोग हुने वस्तुहरुको जाँचपास गर्दा दुई देशबीचको व्यापारमा असर नदेखिएको रसुवा भन्सार प्रमुख पुण्य बिक्रम खड्काले बताए ।