असोज १, काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो ।
चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए । शाहका अनुसार स्वास्थ्य सुरक्षालाई प्रमुख ध्यानमा राखी केबलकारको सेवा सुचारु गर्न विभिन्न तयारी गरिएको छ ।
केवलकार परिसरको प्रवेशद्धारामा सेनिटाइजरको व्यवस्था गरिएको छ । जुन नलगाई भित्र छिर्न पाइदैन् । त्यसैगरी चन्द्रागिरी केबलकार हाताभित्र माक्सलाई अनिवार्य गरिएको छ । माक्स नलगाई सो आसपास जानसमेत निषेध गरिएको छ । शाहले अनलाइनकेन्द्रसंग भने–’हामीले हाम्रा ग्राहकवर्गको स्वास्थ्य सुरक्षालाई मुख्य ध्यान दिने हो । , उहाँहरु स्वस्थ हुनुभयो भने हामी सहज ढंगले व्यवसाय गर्न सक्छौँ, त्यसैले माक्स,सेनिटाइजरलाई मुख्य ध्यान दिएका छौँ ।’ त्यसैगरी उनले केवलकारलाई नियमित सेनिटाइज गर्ने व्यवस्था मिलाएको बताए । उनले भने–’एकपटक यात्रु बोकेर चन्द्रागिरी पुगेको केवलकार फर्केर तल ग्राउण्डमा आइसकेपछि फेरी सेनिटाइज हुन्छ, केवलकार चढ्ने बेला, टिकट काट्न लाइनमा लाग्ने बेला सामाजिक दुरी कायम राख्न त्यही किसिमको बसाई संरचना बनाइएको छ , जहाँ गोलो घेरा बनाइएको छ । त्यहाँ सर्वसाधारणहरु लाइनमा उभिन सक्नेछन् ।’
उनले एउटा केबलकारमा ८ जना चढ्न सकिने भएपनि अहिले त्यसको आधा ४ जना मात्रै केबलकारमा चढेर चन्द्रागिरी जाने व्यवस्था मिलाइएको शाहले बताए । एकै परिवारका सदस्य भए केबलकार चढ्न ४ जनाभन्दा माथी राख्न सकिने र त्यसमा कुनै किसिमको बन्देज नलगाइने उनको भनाई थिया् । उनले चन्द्रागिरी पुगेपछि पनि भालेश्वर मन्दिर दर्शन, घुमफिरमा पनि सामाजिक दुरी कायम राख्न हरप्रयास गरिने बताए । उनले हाल चन्द्रागिरीमा रेष्टुरेन्टको व्यवस्था नहुने र ग्राहकको चाहना हेरेर, सामाजिक दुरी कायम राखेर सेल्फ सर्भिस दिन सकिने विषयमा सोचिरहेको बताएका छन् ।