बैशाख ११, काठमाडौ । पुनर्निर्मित धरहराको शनिबार उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गर्ने तय भएको हो । उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको टुप्पो गएको आइतबार गजूर राखिएको थियो भने त्यसपछि रङरोगनको काम पनि भएको छ ।
२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले कुल २२ तलाको धरहरा बनाइएको हो । करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ । तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ ।