चैत्र १, काठमाण्डौँ । नेपाल टेलिकमले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको जनाएको छ।
टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको उल्लेख गर्दै भनेको छ– ‘यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ।’
टेलिकमले यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नु हार्दिक अनुरोध गरेको छ।
‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीको अपेक्षा गरेको विज्ञप्तीमा उल्लेख छ ।