धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ ताल्तीमा सञ्चालन भैरहेको ह्वासिन सिमेन्ट उद्योगले दुई विद्यालयलाई आर्थिक सहयोग गरेको छ । कम्पनीका महानिर्देशक स्याङ् च्याङजोङ र उपमहानिर्देशक डिल्लीराज पोख्रेलले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापकलाई आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण गरेका हुन।
श्री पिपल भञ्ज्याङ मा.वि.लाई तीन लाख र प्रजा आधारभुत विद्यालयलाइ एक लाखको चेक हस्तान्तरण गरिएको हो । आर्थिक अभावले दुबै विद्यालयले शिक्षकलाइ तलब दिन समस्या झेलिरहेका थिए। कम्पनीले स्थानिय विद्यालयलाई बिगत चार वर्षदेखि निरन्तर सहयोग गर्दै आइरहेको हुवासिन सिमेन्टका तुलसी थापाले अनलाइनकेन्द्रलाई जानकारी दिए ।
यसअघि पनि कम्पनीले स्थानीय प्रहरी चौकि निर्माण तथा स्वास्थ्य चौकिलाई पनि सहयोग गरेको थियो । कम्पनीले स्थानीय ६० घर परिवारलाई निशुल्क बिद्युत प्रदान गर्दै आएको छ । कम्पनीमा स्थानीय २८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने १००० जना भन्दाबढी विभिन्न अवसर प्राप्त गरेका छन । कुनै समय , सडक र सञ्चारको समस्या रहेको ताल्तीमा हुवासिन सिमेन्ट उद्योग स्थापनापछि मुहार फेरिदै गएको छ ।