डिजेलको भाउ घटेको ९ दिन हुँदासमेत छोटो दुरीको भाडा अझै घटेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ११, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ११,काठमाडौँ । डिजेलको भाउ घटेको ९ दिन भैसक्दासमेत छोटो दुरीको भाडा अझै घट्न सकेको छैन । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दुरीको भाडा समायोजना गरेको थियो । तर छोटो दुरीको भाडा अहिलेसम्म घट्न सकेको छैन । लामो दुरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले गाडी भाडा घटाउने अन्तिम तयारी गरिरहेको दाबी गरेको छ । काठमाण्डौ उपत्यकाभित्र ५ दशमलव ९० प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालबाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले घटाउन लागिएको मन्त्रालयका सचिव अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार समायोजनको अन्तिम तयारीमा रहेको यो भाडादर आजै राजपत्रमा प्रकाशित गर्ने गरी गृहकार्य भैरहेको छ । आज राजपत्रमा प्रकाशित भए भोलिदेखि नै घटेको भाडा लागू हुनेछ । प्रदेश सरकारले भाडादर समायोजनमा ढिलाइ गर्दा यात्रु मर्कामा परेका छन् । यात्रुले पहिलेकै महँगो भाडा तिरिरहेका छन् ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडीभाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्य अनुसार डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दुरीको गाडी भाडा बढेको थियो । बढेको भाडा अनुसार यात्रुले काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस