बाल सुधार गृहबाट भागेका २ सय १४ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमवार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । सोमवार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये हिजो दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

फरार रहेकामध्ये सोमवार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र थप १० जनालाई हिजो उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतवार बिहान ज्यान गएपछि सुधार गृहमा शुरु भएको घटनाले सोमवार भयावह रुप लिएको थियो ।

सोमवार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रृग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो ।

घटनामा १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए । केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्‍याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

उनले मृतकका परिवारसँग भएको छलफलमा भोलि जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिए ।

सुधार गृहभित्र आइतवारबाट भएको घटनाले उग्ररुप लिए पछि तीन दिनदेखि त्यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस