फागुन ४,नुवाकोट । मेडम ट्वाइलेट कहां जाउं मलाई गाह्रो भयो ? बिद्यार्थीले कक्षामा अध्ययन गर्दा गर्देैै शिक्षक शिक्षिकासंग बाहिर जाने अनुमति माग्दा सोध्ने प्रश्न हो यो । बाथरुम नै नभएको कारण राजधानीसंग जोडिएको नुवाकोटको शिवपुरी गाउंपालिका ६ स्थित चुनभुमे आधारभुत बिद्यालयका बिद्यार्थीले बिहान देखि सांझ बिदा हुने समय सम्म ट्वाइलेट नलागे हुन्थ्यो भन्ने सोच्छन् र लागिहाले पनि संभव भएसम्म च्यापेर बस्ने गर्छन । तर बाध्यकारी अबस्था नै आएमा शिक्षक शिक्षिकासंग कहाँ जाउ भनी सोध्छन् अनि शिक्षकले नजिकै रहेको एक घरमा अनुरोध गरेर पठाउने गर्छन ।
नजिकैको घरमा ट्वाइलेट जानपनि सहज हुन छोडेपछि सो बिद्यालयमा बिधार्थीले अध्ययन गर्न नै छोड्न थालेका छन् । केही बर्ष अघिसम्म कक्षा १ देखि ३ सम्म अध्ययन हुने सो बिद्यालयमा करीब ९० जना बिद्यार्थी थिए भने अहिले बाथरुमको अभावकै कारण बिद्यार्थी घटेर जम्मा १२ जना रहेका छन तिनीहरुको पनि त्यति निरन्तरता नभएको बिद्यालयकी शिक्षिका मीरा तामाङ बताउछिन् । कहिलेकांही त बिद्यालयमा बिद्यार्थीको संख्या ४ , ५ जनामात्रै हुन्छन् । बिद्यालय हेर्दा सिमेण्टेड रामैै्र छ तर पक्की सहितको बिद्यालय निर्माण गर्दा सानो ट्वाइलेट नबनाइदिएको कारण छात्राछात्रालाई निकै समस्या भएको छ ।
छात्र २ जना र छात्रा १० जना अध्ययन गर्ने चनभुमे आधारभुत बिद्यालय पुग्न काठमाडौदेखि जम्मा एक घण्टा मात्र लाग्छ र पनि शिबपुरी डाँडाँबाट चार किलोमिटर तल स्कूल पुग्न निकै अफ्ट्यारो वाटो भएको कारण दुर्गम गाउँ जस्तो छ । प्रधानाध्यापक भीमसेन पाठक , शिक्षिका मीरा तामाङ र कार्यालय सहयोगी रामशरण भेटवालले काम गर्ने बिद्यालयका प्रधानाध्यापक सरकारी निकायले गर्ने तालीम लगायतका कार्यक्रममा गैरहनुपर्ने भएकोले कार्यालय सहयोगीले पनि कक्षा लिन सहयोग पुरयाउने गरेका छन् । कार्यालय सहयोगीले पढाउन सक्ने अबस्था छ त ? भन्ने प्रश्नमा भेटवाल भन्छन् यसै त ट्वाइलेट लगायतको अभावले बिद्यार्थी घट्दो क्रम छ भने अनि भएकालाई पनि पढाइएन भने त के होला भनी प्रधानाध्यापक बाहिर गएको वेला मीरा मेडमसंग सल्लाह गरेर पढाउने गरेको छु किनकि कार्यालय सहयोगी भएपनि मैले प्लस टु त गरेकै छु नि ।
यसै त गाउंमा मान्छे बस्न छोडेका छन् तर शहरतिर जान नसक्ने मात्र गाउँमा बसेका छन् । शहर जान नसक्ने परिवारका बालबच्चालाई पनि पढाउने सुबिधा उपलब्ध गराउन सकिन्न भने सरकारले शिक्षामा गरेको लगानी कहाँ गएको छ भन्ने प्रश्न गर्नुपर्ने भएको छ । नुवाकोट शिबपुरी गाउँपालिका ६ स्थित चनभुमे आधारभुत बिद्यालय जस्ता गाउँका थुप्रै बिद्यालय बिद्यार्थीको संकट भोग्न बाध्य छन । जसले गर्दा शिक्षक शिक्षिका कामबिहीन हुन थालेका छन । त्यसमा पनि अति आबश्यक पर्ने ट्वालेटकै अभावमा बिद्यार्थीले स्कूल छोड्ने बातावरण बन्नु दुखद पक्ष रहेको स्थानीय एक बृद्ध भन्छन । उनी भन्छन् कहिले काहीं बिद्यालयमा जम्मा४ , ५ जनापनि हुंदैनन् । बिद्यालय ंभवन ठूलै छ तर बिद्यार्थी नै नभएपछि सार्वजनिक बिदा भए जस्तो देखिन्छ ।
सो बिद्यालयकी शिक्षिका मीरा तामाङ दिनभरि पढाउछिन् तर उनले आफैले कति तलब खान्छिन् उनैलाई थाहा छैन । किनकि उनका ससुरा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रहेछन् । उनैले तलब बुझेर लैजादा रहेछन् । एक जिज्ञासामा उनी भन्छिन् मेरा ससुराले छोरी सरहकै ब्यबहार गर्नुहुन्छ । चाहिएको पैसा दिइहाल्नुहुन्छ । त्यसैले मैले पनि कति के हो भनी त्यस्तो निधिखुद्यी गर्दिन । ट्वालेटकै अभावमा बिद्यार्थीले स्कूल छोडन थालेको जानकारी पाएपछि शिक्षा , स्वास्थ्य , वाताबरण , शान्ति र द्धन्द्ध ब्यबस्थापन जस्ता क्षेत्रमा क्रियाशील सामाजिक संस्था रोटरी क्लबअफ काठमाडौ टाउनले सो बिद्यालयमा शौचालय निर्माण गरिदिने भएको छ । रोटरियनहरुले आफै सहयोग स्वरुप रकम संकलन गरी करीब चार लाख बरावरको ट्वालेट निर्माण गरिदिने भएको छ ।
सो ट्वालेटको शिलान्यास समेत एक समारोहकावीच शिवपुरी गाउपालिकाका अध्यक्ष गोबिन्द थपलियाले शिलान्यास गरेका छन् । क्लबका अध्यक्ष राजकुमार वैदवारको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले गत बर्ष पनि समुन्द्रामा विमा छात्रा शौचालय निर्माण गरिदिएको क्लबले यस पटक अति दुर्गम गाउंमा रहेको बिद्यालयका लागि जुन सहयोगी हात बढाएको छ त्यो अति उदाहरणीय र अनुकरणीय रहेको उल्लेख गरे ।
शिलान्यास समारोहमा रोटरियन क्लबका अध्यक्ष राजकुमार बैदवार , निवर्तमान अध्यक्ष स्थानेश्वर रेग्मी , बरिष्ठ पत्रकार टंक पन्त , क्लब इलेक्ट अध्यक्ष अमोलचन्द्र प्रधान , नोमिनी इलेक्ट अध्यक्ष अनोजराज पौडेल , सर्भिस चेयर मोहनबहादुर ढकाल लगायतले सामाजिक क्षेत्रमा क्लबले चलाएका सामाजिक अभियानको महत्व र प्रभावबारे प्रकाश पारेका थिए ।