जेठ ३१, काठमाडौं । भारत सरकारले नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोगस्वरूप ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । सवारी साधन हस्तान्तरणका लागि काठमाडौं, वीरगंज, पोखरा र धरानस्थित भारतीय नियोगहरुमार्फत एकैसाथ कार्यक्रम आयोजना गरिएको थियो ।
सात वटै प्रदेशका ३३ जिल्लामा वितरण गरिएका यी एम्बुलेन्समध्ये २२ वटा काठमाडौंमा, ७–७ वटा पोखरा र वीरगंजमा तथा ४ वटा धरानमा हस्तान्तरण गरिएको हो ।
काठमाडौंस्थित भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले लाभार्थी स्थानीय तह तथा संस्थाका प्रतिनिधिहरुलाई सवारी साधनको चाबी हस्तान्तरण गरे । कार्यक्रममा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न पालिका प्रमुखहरू, राजनीतिक प्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख श्रीवास्तवले नेपाल सरकारको स्वास्थ्य पूर्वाधार सुदृढीकरणको पहलमा भारत सरकारको यो योगदान नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारीको हिस्सा रहेको बताए । उनले विगत सात दशकदेखि निरन्तर बलियो बन्दै आएको द्विपक्षीय सम्बन्धलाई स्वास्थ्य, शिक्षा, यातायातलगायतका क्षेत्रमा भारतको सहयोगले अझ सुदृढ बनाएको उल्लेख गरे ।
लाभार्थी संस्थाका प्रतिनिधिहरूले एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सन् १९९४ यता भारत सरकारले नेपाललाई १०४९ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ । यसबाहेक, ३०० स्कुल बस, २०० निर्वाचन प्रयोजनका सवारीसाधन, र हालै ‘सगरमाथा संवाद’ कार्यक्रमका लागि १५ वटा विद्युतीय सवारी साधन पनि उपहार दिइएको छ ।
भारत–नेपालबीचको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीले दुई देशबीचको मित्रता र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।