पौष ५, काठमाडौं । लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले कारवाओ कपको सेमिफाइनलमा स्थान बनाएका छन् ।
चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी बोर्नमाउथलाई १–० ले तथा टोटेनहमले अर्काे प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई २–० ले पराजित गर्दै कारवाओ कप (इंग्लिस लिग) कपको अन्तिमा चारमा स्थान बनाउन सफल भएका हुन् ।
चेल्सीले घरेलु मैदानमा बुधबार राति भएको खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । बल पोजिसनमा पकड बनाएपनि चेल्सी गोल गर्न असफल बनिरहेको थियो । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा इडेन हाजार्डले गोल गर्दै चेल्सीलाई लिग कपको सेमिफाइनलमा पु¥याए । उनले इमर्सनको पासलाई सदुपयोग गरेका थिए ।
बुधबार राति नै भएको अर्काे खेलमा ह्युङ मिन सन र डेल अलीको गोलको सहयोगमा टोटेनहमले आर्सनलमाथि २–० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । टोटेनहमका लागि खेलको २०औं मिनेटमा सनले गोल गर्दा ५९औं मिनेटमा डेल अलीले गोल गरेका थिए ।
यसअघि म्यानचेस्टर सिटी र लिग वान क्लब बर्टन अल्वियोनले सेमिफाइनलमा स्थन बनाइसकेका छन् ।
लिग कपको सेमिफाइनलमा सिटी र बर्टनले प्रतिस्पर्धा गर्दा अर्काे सेमिफाइनलमा चेल्सी र टोटेनहमबीच खेल हुनेछ । सेमिफाइनल ९ जनवरीमा हुनेछ ।