चैत्र २०, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गोल्ड मेडल जितेकी कराते खेलाडी अनु अधिकारीले विभागीय टोली एपीएफ छाडेकी छिन् । गत डिसेम्बरमा घरेलु भूमिमा भएको सागमा अनुले ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
एपीएफबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी अनुले अहिले एपीएफ छाडेकी हुन् । अघिल्लो महिना फागुनमै राजीनामा दिएको र स्वीकृत भइसकेको अनुले बताइन् । राष्ट्रिय टिमको क्याम्पमा रहेकी अनु टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा थिइन् । तर कोरोना भाइरसको महामारीका कारण टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ । नुवाकोट स्थायी घर भएकी अनु २०६९ सालमा करारमा एपीएफ पुगेकी थिइन् । २०७० सालदेखि उनी त्यहाँ जागिरेकै रुपमा काम गर्न थालिन् । यसबीचमा उनले राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय सबै प्रतियोगिता खेल्दा एपीएफमै रहेर खेलिन् ।