चैत्र २७, काठमाण्डौ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी कायम रहेकोले खेलकुद ठप्प छ । चर्चित खेल फुटबल पनि यसबाट प्रभावित छ । त्यसको असर वरीयतामा समेत परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयतामा एक टिम बाहेक केही परिवर्तन भएको छैन । नेपालको पुरुष फुटबल टिम पनि फिफाको वरीयतामा यथावत रहेको छ ।
फेब्रुअरी पछि जारी वरीयतामा नेपाल १७०औं स्थानमै यथावत रहेको हो । फिफाले मासिक रुपमा वरीयता जारी गर्दै आएपछि २०१९ डिसेम्बर यता भने दुई महिना फरकमा वरीयता सार्वजनिक गरेको हो । बिहीबार सार्वजनिक वरीयतामा साउथ सुडान बर्मुडा भन्दा अगाडि पुगेको छ । तर दुवैको समा अंक रहेकोले बर्मुडा तल झरेको छैन । साउथ सुडान र बर्मुडा दुवै १६८औं स्थानमा संयुक्त रुपमा छन् ।