वैशाख १७, काठमाण्डौ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा आयोजना हुने भनिएको टोकियो ओलम्पिक एक वर्ष पर धकेलिसकेको छ । तर, सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म तय भएको ओलम्पिक पनि नहुने आशंका गरिन थालिएको छ ।
विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक अहिलेको जस्तो अवस्था रहिरहेमा हुन नसक्ने टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योसिरो मोरीले बताएका छन् । एक जापानी सञ्चार माध्यमसँग कुराकानी गर्दै मोरीले यो वर्षको अन्त्यसम्म पनि कोरोना भाइरस नियन्त्रणमा नआएमा टोकियो ओलम्पिक हुन नसक्ने दाबी गरेका हुन् ।
उनले अहिले घोषणा गरेको मितिमा पनि ओलम्पिक खेलकुद आयोजना हुन नसकेमा त्यसलाई रद्द गर्नुको विकल्प नभएको बताए । ‘कोरोना भाइरसको महामारी रोकिएन भने ओलम्पिक खेलकुद अब पछाडि सार्न सकिँदैन। यसको एउटा उपाय भनेको यसलाई रद्द गर्नु हो’, मोरीले भनेका छन् । यसअघि विश्वयुद्धका क्रममा ओलम्पिक खेलकुदलाई रद्द गरिएको उदाहरण पेस गर्दै उनले अहिले सारा मानव समुदाय ‘अदृश्य दुश्मन’ विरुद्धको लडाईंमा होमिएकाले ओलम्पिक खेलकुद रद्द भए पनि फरक नपर्ने बताए ।
टोकियो ओलम्पिकका लागि जापान सरकारले अहिलेसम्म १३ बिलियन अमेरिकी डलर खर्च गरिएको मोरीले जानकारी दिए । उनले सरकारले यति धेरै लगानी गरिसक्दा ओलम्पिक पूर्वघोषित मितिमा होस् भन्ने चाहना हुँदाहुँदै पनि अहिलेको विषम परिस्थितिलाई नजरअन्दाज गर्न नसकिने बताए । यसअघि ओलम्पिक आयोजक कमिटीका केही सदस्यसँगै आफ्नै केही पदाधिकारीले एक वर्ष सार्न अनुरोध गरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले टोकियो ओलम्पिक एक वर्ष पर सारेको थियो । एक सय २४ वर्षको इतिहासमा ओलम्पिक खेलकुद पर धकेलिएको पहिलो पटक हो । यसअघि सन् १९१६, १९४० र १९४४ मा तय भएको ओलम्पिक खेलकुद विश्व युद्धका कारण रद्द भएको थियो । अन्नपूर्णपोष्टबाट