असोज ५, काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग खेल्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।
समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो । जुन खेलमा नेपाल २-१ ले पराजित भएको थियो । अन्तिम केहि मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित भएको थियो ।
फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा रहेको छ । छनोटको आशा कायम राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । नेपाललाई जितले मात्र पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ ।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर रहेको छ । नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो । दुबै खेलमा नेपालले हार व्यहोरेको थियो ।
सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो । यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो ।