असोज १४, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको हो ।
बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे । राफा सिल्भाको नाममा एक गोल रह्यो । खेलको तेस्रो मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दा बेन्फिका २-० ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३-० को सानदार जित दिलाए ।
यससँगै बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको छ ।
यस जितसँगै समूह ई बेन्फिकाले २ खेलमा ४ अंक जोडेको छ । बेन्फिका दोस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको बार्सिलोना पुछारमा रहेको छ ।