असार ४,काठमाडौँ । पूर्वी पहाडी जिल्लाका सांसद, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरुले प्राकृतिक प्रकोपको खतरा अहिले पनि कायमै रहेकाले उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न माग गरेका हुन्।
ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन साथै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन उनीहरुको आग्रह गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाको खोजी, उद्धार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताए । बाढी पहिरोले पुर्याएको क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यातायात सम्पर्क टुटेको ठाउँमा बेलिब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । उहाँले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाइने पनि बताए।
बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वमन्त्री एवं एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू बालुवाटार पुगेका थिए ।