भाद्र ३,काठमाडौँ । लाइन्स क्लव अफ काठमाडौँ हाइभिजनले नव नेृतृत्वको पदस्थापना तथा साधारणसभा शनिबार काठमाडौँमा सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न लाइन्स तथा लियोहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले लाइन्स क्लव देशभरी नै सेवा गरौँ भन्ने भावले सक्रिय रहेको र काठमाडौँ हाइभिजनले पनि सोही मर्म अनुरुप विभिन्न सामाजिक सेवा गरिरहेकोमा खुसी व्यक्त गरिन् । क्लवमा सेवा भावमात्रै नभई भाइचाराको सम्वन्ध स्थापित गराउने संस्कार रहेको उनको भनाई थियो ।
कार्यक्रममा लाइन्स क्लव अफ काठमाडौँ हाइभिजनका निवर्तमान अध्यक्ष शंकरबाबु भट्टराईको बिदाई तथा नवनिर्वाचित अध्यक्ष प्रल्हाद खकुरेलको टिमलाई पदस्थापन तथा स्वागत गरिएको थियो । पदस्थापनपछि क्लवका अध्यक्ष खकुरेलले आफ्नो क्लव युवा जोश र जाँगरले भरिएको बताए ।
उनले लाइन्स क्लव अफ काठमाडौँ हाइभिजनमा जोडिन सबैलाई आग्रह समेत गरे । खकुरेलले आफ्नो कार्यकालमा क्लवलाई थप शसक्त र बलियो बनाउने साथै समाजिक सेवाका कार्यक्रमलाई व्यापक बनाउने लक्ष्य रहेको बताए । कार्यक्रमको संयोजन तथा सञ्चालन क्लवका सचिव हरिहर लामिछानेले गरेका थिए ।