भाद्र २१, काठमाण्डौ । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पुर्याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो ।
विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ आइपुगेका हुन् । टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिए । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उनको भनाइ छ ।
‘विस्तृत विवरण अध्ययन र सबै क्षेत्रको अवलोकनपछि आउँछ’, उनले भने, ‘भूकम्पलगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।’ टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पुर्याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय जलजला गाउँपालिका तथा जिल्लास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायतको पटक–पटकको अवलोकन र नियन्त्रणको प्रयास समेत असफल भएपछि भूगर्भविद्को टोली ल्याउनु परेको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए । टोलीको प्रतिवेदनको आधरामा उक्त क्षेत्रको संरक्षणका लागि पहल थालिने छ ।