असोज १८, काठमाडौँ । संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै उनीहरूले तत्काल संसद्बाट ऐन पारित हुनुपर्ने माग गरेका हुन् ।
स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन्। उनीहरूले ऐनको नाम नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन राख्नुपर्ने उनको माग छ। त्यस्तै संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग छ ।