भाद्र २५, काठमाण्डौँ । वडाध्यक्ष र वडा सचिवसहित तीन जना साढे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी उपसचिव तुलसी राम पौडेलका अनुसार उनीहरूलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस र रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित छन् ।