अर्थतन्त्रका सूचक सकारात्मक, मूल्यमृद्धि घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २९, सोमबार (१० घण्टा अघि)
  • ५० पटक पढिएको
अर्थतन्त्रका सूचक सकारात्मक, मूल्यमृद्धि घट्यो

वैशाख २९, काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा मूल्यमृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार ९ महिनामा मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा ४.६१ प्रतिशत मूल्यवृद्धि थियो ।

यस्तै विप्रेषण आप्रवाहमा १० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष सोही प्रकृतिको आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो ।

यसैबीच चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब ७८ करोड रहेको थियो ।

यस्तै चालु आर्थिक वर्षको ९ महिनामा सरकारको कुल खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा आठ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ४९ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले वृद्धि भई चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलर सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६५२ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस