कौशल उप्रेती
गैरआवासीय नेपाली संघ (एनआरएनए) आज केवल एउटा संस्था मात्र होइन, यो विश्वभरि फैलिएको नेपाली समुदायको भावना, अस्तित्व र जिम्मेवारीसँग गहिरो रूपमा गाँसिएको अन्तर्राष्ट्रिय अभियान हो। यस अभियानले नेपालीहरूलाई केवल भौगोलिक रूपमा मात्र होइन, भावनात्मक, सामाजिक र राष्ट्रिय चेतनाले समेत एकीकृत गर्दै आएको छ। जब सन् २००३ मा केही अग्रणी प्रवासी नेपालीहरूले एउटै उद्देश्यका साथ एनआरएनएको स्थापना गरे, उनीहरूको दृष्टिकोण केवल संस्थागत उपस्थितिमा सीमित थिएन।उनीहरूको सपना थियो विश्वभरि रहेका नेपालीहरूलाई एउटै साझा मञ्चमा उभ्याएर मातृभूमिको समृद्धि र गौरवमा योगदान पुर्याउनु।
दुई दशकभन्दा बढीको यो यात्रामा एनआरएनएले थुप्रै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। संस्थाले गैरआवासीय नेपालीहरूको कानुनी मान्यता, नागरिकतासम्बन्धी नीति निर्माणमा प्रभावकारी भूमिका खेलेको छ। नेपालमा लगानी प्रवाह बढाउन, अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरू आयोजना गर्न, समाजसेवामूलक कार्यहरू सञ्चालन गर्न, प्राकृतिक विपत्तिका बेला राहत वितरण, प्रविधि हस्तान्तरण, शिक्षामा योगदान, र प्रवासी नेपालीहरूको हकअधिकारको संरक्षणमा उल्लेखनीय कार्यहरू सम्पन्न गरेको छ।
‘नेपालका लागि नेपाली’ भन्ने मूलमन्त्र बोकेको यो संस्था आज विश्वका ८६ भन्दा बढी देशहरूमा राष्ट्रिय समन्वय परिषद् (NCC) मार्फत स्थापित भइसकेको छ। यसले विदेशमा रहेका लाखौँ नेपालीहरूलाई मातृभूमिप्रति जोड्ने पुलको काम गरेको छ। साथै, नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ। सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारीका बेला एनआरएनएले देखाएको सक्रियता र सहयोग अझै पनि उदाहरणीय मानिन्छ। नेपाल सरकारका नीतिगत निर्णयहरूमा एनआरएनए आज पनि एक सशक्त साझेदारको रूपमा रहेको स्पष्ट छ।
तर दुःखको कुरा के हो भने, यति सशक्त र जनविश्वास प्राप्त यो संस्था पछिल्ला केही वर्षयता आन्तरिक विवाद, गुटबन्दी, असहिष्णुता र नेतृत्वको कमजोरीका कारण कमजोर बन्दै गएको छ। संस्थाभित्र पारदर्शिता, जवाफदेहिता र सुशासनको अभाव तीव्र रूपमा देखिन थालेको छ। नेतृत्व चयनमा पारदर्शी प्रक्रिया नहुनु, विधानको मनपरी व्याख्या, पदको दुरुपयोग, र राजनीतिक हस्तक्षेपका कारण संस्थाभित्र आन्तरिक विघटन चुलिँदो छ।
यसको ज्वलन्त उदाहरण हो—अहिलेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को विभाजित अवस्था। एउटै संस्थाभित्र दुई-दुई कार्यसमिति बन्नु, एकले अर्कोलाई मान्यता नदिनु, र प्रवासी नेपाली समुदायलाई भ्रममा पार्ने अवस्थाले संस्थाको गरिमा मात्र होइन, भविष्य नै संकटमा परेको छ। यस्तो अवस्थामा साधारण सदस्यहरू निराश, निष्क्रिय र पृष्ठभूमिमा धकेलिएका छन्, जसले संस्थालाई यसको मूल उद्देश्य र मूल्यहरूबाट टाढा पुर्याइरहेको छ।
अब यति चुनौतीपूर्ण अवस्थामा सबै गैरआवासीय नेपालीहरूले आत्मसमीक्षा गर्न जरुरी छ। गुनासो मात्र होइन, अब सक्रिय सहभागिता अपरिहार्य छ। एनआरएनए हाम्रो साझा सम्पत्ति हो।यसको संरक्षण, पुनर्संरचना र पुनर्जागरण हाम्रो सामूहिक दायित्व हो। अब हामीले यो संस्थालाई फेरि विश्वासिलो, पारदर्शी, उत्तरदायी र समावेशी बनाउने दिशामा सचेत र जिम्मेवार हस्तक्षेप गर्नुपर्छ।
त्यसको पहिलो र अत्यन्त महत्वपूर्ण कदम हो,सदस्यता प्रक्रिया। तपाईंले २०२५ जुन ६ भित्र एनआरएनए अष्ट्रेलियाको सदस्यता लिनुहोस् वा नवीकरण गर्नुहोस्। सदस्यता तपाईंको अधिकार हो, तपाईंको आवाज हो, तपाईंको सहभागिता हो। यही सदस्यता तपाईंलाई नेतृत्व चयनको प्रक्रियामा भाग लिने अधिकार दिन्छ। त्यसपछि मात्रै तपाईं संस्थाको भविष्य निर्माणमा भूमिका खेल्न सक्नुहुन्छ।
तर सदस्यता लिने कार्य केवल औपचारिकता होइन, यो संकल्प हो,संस्थालाई पुनः उचाइमा पुर्याउने संकल्प। अब त्यस्तो नेतृत्व चयन गर्नुपर्छ, जसले संस्थालाई सबल र समावेशी बनाउने मात्र होइन, विचार, सिद्धान्त र उद्देश्यप्रति समर्पित रहन सकोस्। जो गुटगत वा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकोस्, र प्रवासी नेपाली तथा मातृभूमि दुवैको हितमा सोच्न र काम गर्न सकोस्।
एनआरएनए फेरि पुनर्जागरणको मोडमा छ। यस मोडमा तपाईंको भूमिका निष्क्रिय होइन,निर्णायक हुनुपर्छ। एनआरएनए केवल एक संस्था होइन! यो हाम्रो पहिचान हो, हाम्रो स्वर हो, हाम्रो सपना हो। यो संस्था हाम्रो साझा सास हो र हाम्रो एकताको प्रतीक र भविष्यको आधार हो।
आजै निर्णय गर्नुहोस् र सदस्यता लिएर नेतृत्व निर्माणमा सहभागी बन्नुहोस्। तपाईंको एक मत, एक निर्णय, एक सहभागिताले एनआरएनएलाई फेरि गौरवशाली बनाउन सक्छ। यो संस्था हेर्ने होइन, नेतृत्व गर्न तयार बनौँ। अबको एनआरएनए समावेशी, उत्तरदायी, पारदर्शी र निस्वार्थ हुनुपर्छ र त्यो तपाईंको सक्रिय सहभागिताबाट सम्भव छ।अबको एनआरएनएको निर्माणको जिम्मेवारी सम्पूर्ण नेपाली प्रवासी समुदायको काँधमा छ।