जेठ २०, सिराहा । विष्णुपुर गाउँपालिका– ४ थलहा कटाहामा दलित परिवारले प्रयोग गर्दै आएको बाटो छेकेर दुर्गा मन्दिरका लागि पर्खाल निर्माण गरिएकोे छ । आधा दर्जन ९चमार० दलित परिवारको घरसम्म आउन मन्दिर क्षेत्रको जग्गा हुँदै बाटो रहेकोमा मन्दिरमा पर्खाल उठाएर छेक्न लागिएको हो ।
उक्त पर्खाल मधेश सरकारको पर्यटन विकास कार्यालयले ५० लाख ६० हजार लागतमा १३ जेठबाट वीरेन्द्र यादव अध्यक्ष रहेको उपभोक्ता समितिबाट निर्माण भैरहेको छ । तर, निर्माणको काम भने ठेकेदारमार्फत भइरहेको स्थानीयले बताए ।
मन्दिरको दक्षिण–पश्चिम कुनामा रहेका चैता महरा, रामशंकर महरा, जैनन महरा, शिबु महरा, शिवशंकर महरा, सञ्जय महरा र रामखेलावन महराको घरअगाडिसम्म सार्वजनिक जग्गा बाटोका रूपमा उपयोग भइरहेको थियो । पर्खाल निर्माणका कारण मुल सडकदेखि उनीहरुको घरसम्म जाने बाटो बन्द भएको हो ।
स्थानीय रामएकबाल महराले मन्दिरबाट आफूहरूको घरसम्म आउने सडक नम्बरी जग्गा रहे पनि पर्खाल उठाउँदा बाटो बन्द भएको बताए । ‘मन्दिरपछाडि रहेको मेरो घरसम्म पुग्ने बाटो नम्बरी जग्गामा छ । मन्दिरलाई घेरेर पर्खाल लगाएपछि मसहित दक्षिणपट्टिका ६ घर छिमेकीलाई पनि समस्या भएको छ । पर्खाल नहुँदासम्म मन्दिरको चौर हुँदै सिधै मूल सडकसम्म निस्किन सकिन्थ्यो । अहिले बन्द भएको छ,’ उनले भने ।
अहिलेसम्म मन्दिरको उत्तरतर्फबाट मोडिएर करिब ५० मिटर दक्षिण आएपछि घर पुग्न सकिनेमा अब अवरोध भएको स्थानीय सुनिता महराले बताइन् । ‘हामीले हारगुहार गरे पनि जनप्रतिनिधि र स्थानीयले सडकको लागि जग्गा छाडेनन् । दलित र विपन्न भनेर नै हाम्रो बाटो बन्द गरिएको हो,’ सुनिताले गुनासो गरिन् ।
विष्णुपुर गाउँपालिका–४ का वडाध्यक्ष रामबाबु यादवले बाटो कायम राखेरै पर्खाल निर्माण भइरहेको, तर चित्त नबुझेको भए पुनर्विचार गर्न सकिने बताए । उनले पर्खाल निर्माण अघि उनीहरूको सहमति लिइएको दाबी गर्दै मन्दिरको भोगचलनमा रहेको बाटोको जग्गाधनी दर्ता प्रमाण पुर्जा छ भने अहिले पनि मन्दिरको पर्खाल पूर्वतिर सार्न सकिने भन्दै हिँड्ने बाटो अवरोध गरिएको भए सच्याउँने बताए ।
त्यहाँ १० घर चमार समुदायको दशकौंदेखि बसोबास छ । ३ कठ्ठा नम्बरी जग्गामा उनीहरू बसिरहेका छन् । पर्खाल हालिदिएपछि उनीहरूलाई घरबाट मूल सडकमा जान समेत समस्या हुने भएको छ ।
मन्दिरको परिसरको उत्तरमा वडा नम्बर ४ को कार्यालय छ । त्यसको दक्षिण सार्वजनिक पोखरी र पश्चिम दक्षिणपट्टी सामुदायिक विद्यालय छ ।