जेठ ३०, काठमाडौं । देशको पाँच प्रदेशमा मनुसन फैलिएको छ । कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा हाल मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ ।
हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा देशका बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।