उच्च अदालत जनकपुरको सुरक्षा व्यवस्थामा कडाइ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३१, शनिबार (१५ घण्टा अघि)
  • ३८ पटक पढिएको
उच्च अदालत जनकपुरको सुरक्षा व्यवस्थामा कडाइ

जेठ ३१, पर्सा । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमै दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । १४ वटै न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे इजलास कक्षमै दुर्व्यवहार गरेका थिए । पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीशद्वयमाथि दुर्व्यवहार गर्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको जानकारी दिए । उनले दुर्व्यवहार गर्नेलाई अदालतको मानहानि र अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गर्ने बताए ।

यसअघि १४ वटै न्यायाधीशको लागि एक–एक जना पीएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो । प्रहरी प्रमुख मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस