जेठ ३१, हुम्ला । हुम्लाको नाम्खा हिमपहिरोसम्बन्धी अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ संयोजकत्वको गठित टोलीले हिजो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रतिवेदन बुझाएको हो ।
श्रेष्ठका अनुसार तालको हिउँ पग्लिँदा निस्किएको पानी नै बाढीका रुपमा परिणत भएको थियो । सो क्षेत्रको कतिपय ठाउँ चर्किएको र ढुंगा खस्ने अवस्थामा रहेकाले वर्षा हुँदा फेरि बाढी आउन सक्ने सम्भावना कायम रहेको निष्कर्ष अध्ययन टोलीले निकालेको छ ।
टोलीले हिमतालमै पुगेर अध्ययन गरेको थियो । त्यहाँ तीनवटा ताल भए पनि दुईवटाको मात्रै पानी निस्किएको पाइएको टोलीले जनाएको छ । यही जेठ १ गते राति हुम्लाको नाम्खा गाउँपालिकामा आएको बाढीले तिल गाउँ जोखिममा परेको छ । त्यसपछि सरकारले अध्ययन गर्न श्रेष्ठको संयोजकत्वमा तीन सदसीय समिति बनाएको थियो ।